गुठिचौरको नवीन अभ्यास: बजेट, निति र कार्यक्रमका लागि नागरिकबाट सुझाव संकलन

जनसहभागिताबाट सुझाव,सल्लाह र राय संकलन

जेष्ठ ३१,२०८०
जुम्लाको गुठिचौर गाउँपालिकाले आर्थिक बर्ष २०८०।८१ को नीति तथा कार्यक्रम र बजेट निर्माण पूर्व पालिकावासीसँग सुझाव मागेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम निर्माणका लागि जनतालाई सहभागी गराउने योजना अनुरुप सर्वदलीय तथा सर्वपक्षिय बैठक बोलाई सुझाव माग गरेको हो ।
संघीयता पछि जुम्लाको इतिहासमा गुठिचौर गाउँपालिकाले पहिलो पटक जनसहभागिताबाट सुझाव,सल्लाह र राय मागेको हो।
गाउँपालिका अध्यक्ष दान बहादुर बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा डेढ सय जना पालिकावासीको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधीहरु, टोल विकाश समितिका पदाधिकारीहरु, स्थानीय नागरिकहरु लगायत सरोकारवालाहरुले गाउँपालिकालाई सुझाव दिएका छन् ।
कार्यक्रममा गुठिचौर गाउँपालिलका स्थानीय रतनवीर नेपालीले गाउँपालिकाबाट अघिल्ला आर्थिक बर्षमा गरिएको कार्यक्रमहरुको समिक्षा गर्नु पर्ने सुझाव दिएका छन् ।
शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधारका क्षेत्रमा गरिएको लगानी र त्यसको उपलब्धिको बारेमा समिक्षा गर्नु पर्ने उनले बताए । दलित सहभागीता सुनिश्चिततामा ध्यान दिनु पर्ने उनको सुझाव छ।
त्यस्तै स्थानीय महिला राज्य लक्ष्मी गीरिले गाउँपालिकाले नीति तथा कार्यक्रम निर्माण गर्दा कृषि र सहकारीलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताइन । महिला स्वास्थ्य स्वयंसेविका लाई सञ्चार र निशुल्क बिमा गर्नु पर्ने उनले बताइन।
स्थानीयले गाउँपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना बालवालिकाहरु आफुले पढाएको विद्यालयमा नपढाई निजी विद्यालयमा पढाउनुले आफै माथि विश्वास नरहेको बताएका छन् । आगामी बर्षबाट सवै सरकारी शिक्षकहरुले गाउँपालिकाकै सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याउनु पर्ने स्थानीयको सुझाव छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माण पुर्व स्थानीय सरोकारवालासँग सुझाव लिनु अत्यन्तै राम्रो भएकोले यहाँ बाट प्राप्त सुझावहरु कार्यन्वयन गर्न युवा जगकृष्ण जैसीले बताए ।
युवामैत्री र स्वरोजगारका कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ।
नेपाल कृषि प्रधान देश भएकोले कृषिमा जोड दिनुपर्ने कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।
गुठिचौर गाउँपालिका १ का जीतेन्द्र लामाले गुठिचौर को वडा नम्बर १ र २ क्षेत्र दुर्गम र जटिल भैगोलको भएकोले आर्थिक वर्ष २०८०र०८१ मा जनसंख्या को आधारमा नभइ भूगोलको आधारमा बजेट विनियोजन हुनु पर्ने बताए।
पालिकाबाट सञ्चालित योजना तथा कार्यक्रमहरु परिणाममुखी हुनु पर्ने युवा विष्ण बहादुर महतले बताए । गुठिचौर गाउँपालिकामा पर्यटकीय क्षेत्रहरु पर्याप्त रहेको र त्यस्ता क्षेत्रबाट राजश्व संकलन गर्न सकिने स्थानीय केसि बहादुर भण्डारीले बताए ।
गुठिचौर गाउँपालिका १ का अध्यक्ष अर्जुन कुमार महताराले हाल सम्मको उपलब्धि पर्याप्त नभएको र आगामी वर्ष जनमुखी काममा ध्यान जाने उनले बताए।
गुठिचौर गाउँपालिकाका निवर्तमान अध्यक्ष हरि बहादुर भण्डारीले विगतको जगमा टेकेर गुठिचौर गाउँपालिका समृद्ध बन्ने बताए।
स्थानीयको राय सल्लाह र सुझाव लिने नवीन अभ्यास भएको बताउदै अध्यक्ष भण्डारीले हुबहु सुझाव ग्रहण जन अहिलेका जनप्रतिनिधिलाई अनुरोध गरेका छन्।
यस्तै गुठिचार गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले सकारात्मक र रचनात्मक सुझाव, राय र सल्लाह लाई बजेट तथा निति कार्यक्रमले सम्बोधन गर्ने बताए।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस