जब खस्रुको रुखमा ‘रेड पाण्डा’ टोलायो………

सुन्दर जीव रेडपाण्डा, जो मान्छे देख्दा लजाउँछ

जेठ १३,२०८०

भाद्र महिनाको अन्तिम साता, कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यक्रम अधिकृत विकास भण्डारी तातोपानी–८ को नदै सामुदायिक वनमा रेडपाण्डाको वेसलाइन सर्वेक्षण र अनुसन्धानमा निस्किए । जुम्ला सदमुकाम बाट झण्डै ६० किलोमिटर को यात्रा पछि पुगिन्छ, नदै सामुदायिक वनमा । स्थानीयले रेडपाण्डा देखिदै आएको बताएपछि उक्त सामुदायिक वनमा पहिलो पटक वेसलाईन सर्वेक्षण र अनुसन्धान हुँदै थियो ।
लामो पैदल यात्रा पछि खस्रु र निगालोले झाँगिएको वनमा रेडपाण्डाको खोजीकार्य सुरु भयो । पाँच जना स्थानीय को नेतृत्व गर्दै हातेमालो समाजका कार्यक्रम अधिकृत विकास भण्डारी जँगल चहार्न थाले, रेडपाण्डाको अनुसन्धान मा । घण्टौं सम्म डुल्दा पनि रेडपाण्डा देख्न पाएनन् । विश्वमै दुर्लभ बन्दै गएको रेडपाण्डाको अवस्थाबारे जानकारी बटुल्न त्यति सहज थिएन ।
डुलेर थकित शरिरलाई केहि समय विश्राम लिने निधो भयो । खस्रुको रुख छेवैमा सबै पल्टिए, छरप्रस्ट । त्यतिकैमा विकास भण्डारी ले एउटा दृष्य देखे । झट्ट हेर्दा घरपालुवा बिरालो जस्तो । शरीरको माथिल्लो भाग रातो र खैरो तथा भुँडीमा कालो, अनुहारमा सेतो र आँखा छेउछाउमा कालो भएको रेडपाण्डा खस्रुको रुखमा थियो । नजिकै गएर नियाल्दा पनि भागेन । निकै लामो समय सम्म रेडपाण्डाले एकोहोरो हेरिरह्यो मात्र । ‘सामान्यतया अन्य जँगली जीव, जनावर मानिसको आवाज सुनेपनि भाग्छन्, तर रेडपाण्डा अति लजालु हुन्छ, जो नजिकै जाँदा पनि भाग्दैन । हामीले फोटो लियौं, जिउको आवरण पुरै नियाल्यौं, आधा घण्टा सम्म रुख छेवैमा बस्यौं तर पनि भागेन ।’ विकासले भने ।
रेडपाण्डा हेर्न निकै धैर्य गर्नुपर्ने हुन्छ । लजालु हुनाले पनि यसको संरक्षणमा चुनौति छ, यो भाग्दैन । चरिचरण क्षेत्र विस्तार, जंगलमा भेडा गोठालाले जथाभावी कुकुर छाडा छोड्नु, आहारको विनास हुँदै जानु, वनमा आगलागी गर्नु, पानीको स्रोत घट्नु लगायतका कारण बासस्थान र आहारा सकिँदै जाँदा रेडपाण्डा पनि लोप हुँदै गएको अनुसन्धानले देखाएको छ ।
नदै सामुदायिक वनमा भने घना जँगल र पर्याप्त निगालो हुँदा रेडपाण्डाको लागि अनुकुल देखिएको विकासले बताए । यसको बासस्थान २२ सयदेखि ४८ सय मिटर उचाइमा हुन्छ । यो प्रायः रूखमा बस्छ । एक रुखबाट अर्कोमा उफ्रन र जमिनमा छिटो दौडिन सक्छ ।
डिभिजन वन कार्यालय जुम्लाका डिभिजन अधिकृत दिनेश जँग खत्रीका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा १ देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको छ ।
जुम्लाको पातारासि र सिंजा गाउँपालिकामा रेडपाण्डाको संरक्षणका विषयमा काम गर्दे आएको कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यकारी निर्देशक टेकवहादुर रावतले जानकारी दिए । पातारासी–७ पठमारामा रेडपाण्डाको संरक्षण गरि पर्यटन प्रवद्र्धन गर्न स्थानीयले होमस्टे संचालनमा ल्याएका छन् । रारा ताल जाने उर्थु–भुलभुले सडक खण्डको आडैमा रहेको पठमारामा रेडपाण्डा हेर्न पुग्ने पर्यटकका लागि ६ जना स्थानीयले होमस्टे संचालनमा ल्याएका हुन ।
‘पठमाराको महारुद्र सामुदायिक वनमा रेडपाण्डा हेर्न आउने पर्यटक लाई सहजताका लागि होम स्टे संचालनमा ल्याएका हौं, हामी पर्यटकलाई विसुद्व स्थानिय अर्गानिक खान्कि दिन्छौं ।’ संचालक टेक बहादुर कठायतले भने । विश्वमा रेड पाण्डाको संख्या जम्मा २५ सय को हाराहारीमा भएको अनुमान छ । रेड पाण्डाको औसत आयु ८ देखि १० वर्ष हुन्छ । यसले एक दिनमा करीब दुई लाख बाँसका पात खान सक्छ ।
रेडपाण्डाले जेठदेखि साउन महिनामा सन्तान जन्माउँछ । करीब १८ महिनाको उमेर पछि प्रजननका लागि सक्षम बन्छन् । नेपालमा हाब्रेको संरक्षणमा रेड पाण्डा नेटवर्क क्रियाशील छ । यसले मुलुकभित्रका ३५ जिल्लामा अध्ययन गरिसकेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, डोल्पा, लमजुङ, भोजपुर, रुकुम, जाजरकोट, जुम्ला, मुगु र कालिकोटमा रेड पाण्डा पाइन्छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस