जेष्ठ ५, २०८०
जुम्ला रारा जाने मूल बाटोमा पर्ने पटमारा गाउँमा पर्यापर्यटन प्रर्वद्धनका लागि सरसफाई अभियान सुरु भएको छ । जुम्ला विमानस्थल हुदै पटमारा खाली भएर पर्यटक रारा पुग्ने मार्गमा पर्ने पटमारा गाउँमा आजबाट पर्यापर्यटन प्रर्वद्धनका लागि सरसफाई अभियान सुरु गरिएको हातेमालो नेपाल जुम्लाका कार्यक्रम अधिकृत विकास भण्डारीले जानकारी दिए । ‘पटमारा गाउँमा ६ जना महिलाको सक्रियतामा पटमारा सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ, जुम्ला खलंगा, खाली पाटन, भुलभुले हुदै रारा जाने पर्यटक होमस्टेमा बस्ने भएकोले स्वच्छ वातावरण कायम राख्न सरसफाई अभियान थालिएको हो ।’ भण्डारीले नयाँ कर्णाली सँग भने ।
पटमारा प्राकृतिक सौन्दर्यका हिसाबले अब्बल छ । लेकाली क्षेत्रमा पाइने कोणधारी वन, लालिगुँरास, भोजपत्र, खस्रु प्रशस्तै छ । यति मात्रै होईन पटमाराको महारुद्ध र सलिमधारा सामुदायिक वनमा विश्वकै लोपउन्मुख सुन्दर जीव रेडपाण्डा ‘नौटोटो’ पाइन्छ । रेडपाण्डाको संरक्षण गर्दै पर्यापर्यटन प्रवद्र्धनका निम्ति पटमारा का स्थानीय विगत पाँच वर्ष देखि सक्रिय रहेको हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतले जानकारी दिए ।
४ सय ८१ हेक्टरमा फैलिएको महारुद्ध सामुदायिक वन भित्र रेडपाण्डा देख्न सकिने पातारासी ७ का वडा सदस्य रुद्रलाल थापाले बताए । नेपालमा ३ सय देखी ५ सय सम्मको संख्यामा रहेको रेडपाण्डा पटमाराको सामुदायिक वनमा हुनु पर्यटनका दृष्टिले महत्पुर्ण रहेको उनको भनाई छ । देश, विदेशका पर्यटकलाई आर्कर्षित गर्न रेडपाण्डाको संरक्षणमा यहाँका स्थानीय जुटिरहेको उनले जानकारी दिए । वातावरण स्वच्छ राख्न हरेक महिना सरसफाई अभियानलाई निरन्तरता दिइने उनले प्रतिवद्धता व्यक्त गरे ।
पटमारा पुग्ने पर्यटकलाई अर्गानिक खान्कि र सँस्कृति बाट स्वागत तथा सत्कार गर्दै आएको होमस्टे सञ्चालन समितिकि अध्यक्ष राजकली रावतले बताइन । ‘गाउँघरमा उत्पादन हुने स्रोत साधन बाटै होम स्टे सञ्चालन भइरहेको छ, तर स्थानीय सरकारले आवश्यक समन्वय भने गर्न सकेको छैन ।’ होमस्टे सञ्चालक जानदेवी बुढा थापाले बताईन ।
रेडपाण्डा नेटवर्क र हातेमालो नेपाल जुम्लाको साझेदारीमा पश्चिम नेपालमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम जुम्लाका तिन स्थानीय तह (सिंजा, तातोपानी र पातारासी) मा सञ्चालनमा रहेको रेडपाण्डा नेटवर्कका कार्यक्रम अधिकृत दिनेश घलेले बताए । विश्वका पाँच मुलुकमा मात्रै पाइने रेडपाण्डाको संख्या १० हजार भन्दा कम रहेको उनले बताए । चोरी सिकारी र बासस्थान नास हुँदा रेडपाण्डा लोपउन्मुख अवश्थामा रहेको उनले बताए । पर्यापर्यटनको लागि रेडपाण्डाको संरक्षण आवश्यक रहेको उनको भनाई छ ।
रेडपाण्डा संरक्षण्मा आधारित रहेर पर्यापर्यटन प्रर्वद्धनका लागि पटमारा समुदायका सरसफाई समिति, यूवा क्लव, सामुदायिक विद्यालय र सरोकारवाला सक्रिय रहेका छन् ।
पर्यापर्यटन प्रर्वद्धनका लागि पटमारामा सरसफाई अभियान सुरु
रेडपाण्डा संरक्षणमा सक्रिय जुम्लाका स्थानीय
प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस